तीन प्रश्न


उज्जू डार्लिङ सानो पर्दाका दर्शकहरूका लागि लोकपि्रय नाम हो। कलाकार उज्जल भण्डारी लामो समयदेखि नेपाल वान च्यानलबाट प्रसारण भैरहेको रमाइलो कुराकानीमा आधारित कार्यक्रम 'उज्जू डार्लिङ' का प्रस्तोताका रूपमा लोकपि्रय छन्। ३ सयभन्दा बढी श्रृंखला प्रसारण भैसकेको यो कार्यक्रमले उज्ज्वल भण्डारीको वास्तविक परिचयसमेत ओझेलमा पर्दैछ, किनभने अधिकांश दर्शकले उनलाई उज्ज्वल भण्डारीभन्दा पनि उज्जू डार्लिङकै रूपमा चिन्छन्। कार्यक्रममा उनी तेस्रोलिंगीको चरित्रमा प्रस्तुत हुन्छन्। यो कार्यक्रम प्रत्येक सोमबार राति ९ बजे प्रसारण भैरहेको छ। उज्जू डार्लिङका रूपमा उज्ज्वलले आमन्त्रित सेलिब्रेटीहरूसँग रमाइलो  कुराकानी गर्छन्।  यो कार्यक्रमकै कारण करिब ६० प्रतिशत दर्शकले उनलाई तेस्रोलिंगीकै रूपमा चिन्छन्। ३० प्रतिशतले महिला भएको अनुमान गर्छन् अनि १०  प्रतिशतले मात्र उनलाई वास्तविक उज्ज्वलका रूपमा चिन्छन्। २०३८ सालमै सर्वनाम नाट्य समूहसँग आबद्ध भएर सडकनाटकमार्फत अभिनय यात्रा प्रारम्भ गरेका उज्ज्वलले करिब ३० वर्ष लामो यात्रामा दर्जनौं नाटक तथा टेलिश्रृंखलामा अभिनय गरिसकेका छन्। नेपाल टेलिभिजनको स्थापना कालमै निर्माण भएका 'अन्तराल', 'एक रात' आदि टेलिचलचित्रमा अभिनय गरेका उज्ज्वलले मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यले निर्दश्ान गरेका टेलिश्रृंखलामा अभिनय गरेर दर्शकको मन जितिसकेका छन्। केही चलचित्रमा समेत अभिनय गरेका उज्ज्वल विगत सात वर्षदेखि उज्जू डार्लिङका रूपमा लोकपि्रय हुन पाउँदा खुसी छन्। यही लोकपि्रयतालाई सदुपयोग गर्दै यतिबेला लेखक पदम गौतमले 'उज्जू डार्लिङ' शीर्षकको पुस्तक तयार पार्दैछन्। पुस्तक तथा उनका आगामी कार्यक्रममा केन्दि्रत रहँदै उज्जू डार्लिङसँग साप्ताहिकका कृष्ण भट्टराईको तीन प्रश्न ः

तपाईंलाई ँउज्जू डार्लिङ’ का रूपमा सम्बोधन गरिँदा कस्तो लाग्छ ?

टेलिभिजनको एउटा कार्यक्रममार्फत एक जना कलाकार अर्थात् कार्यक्रम प्रस्तोताको परिचय तथा पहिचान नै परिवर्तन हुन सक्दो रहेछ भन्ने सोचेर खुसी लाग्छ। यो सम्बोधनलाई मैले कार्यक्रमको सफलताका रूपमा पनि लिएको छु।

पुस्तकका रूपमा ँउज्जू डार्लिङ’ कसरी आउँदैछ ?

पदम गौतमले मेरो यो कार्यक्रममा आधारित पुस्तक लेखिरहनुभएको छ। करिब दुई महिनापछि पाठकको हातमा पर्ने उक्त पुस्तकमा उज्जू डार्लिङ कार्यक्रमको लोकपि्रयता तथा कार्यक्रम प्रस्तोताका रूपमा मैले अनुभव गरेका रमाइला/नरमाइला प्रसंगहरू समेटिएका छन्।

आगामी दिनमा कसरी अघि बढ्ने योजना बनाउनुभएको छ ?

युवाहरूमाझ लोकपि्रय 'साप्ताहिक' मार्फत एउटा सरप्राइज दिँदैछु। करिब दुई सातापछि नै पाठकहरूले उक्त सरप्राइज पाउनुहुनेछ। यसले उज्जू डार्लिङका प्रशंसकहरूलाई अझ बढी खुसी दिनेछ भन्ने कुरामा ढुक्क छु।